सुदूरपश्चिमका मुख्यमन्त्री स्वडारी पर्सि पद त्याग गर्दै
न्यूज सम्बाददाता
टीकापुर, कैलाली १६ साउन
एमाले र माओवादी केन्द्रसहितको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका दीर्घबहादुर स्वडारीले शुक्रबार पद त्याग गर्ने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेले गत असार २० गते मुख्यमन्त्री स्वडारीलाई दिएको समर्थन फिर्ता लिदैं मन्त्रीहरूलाई राजिनामा गर्न लगाएपछि सरकार अल्पमतमा परेको थियो ।
एमालेको समर्थनपछि अल्पमतमा परेको स्वडारी सरकारले संविधानतः ३० पुगाएर शुक्रवार विश्वासको मत लिने बताइए पनि स्रोतका अनुसार प्रदेश सभामा आफ्ना कुरा राखेर पद त्याग गर्ने छन् ।
मुख्यमन्त्री स्वडारीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरी दिन आग्रह गरेका छन् ।
प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् ।
जबकी ५३ सदस्यीय प्रदेश सभामा अहिले कै अवस्था कायम रहे मुख्यमन्त्री स्वडारीलाई नेकपा माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी रञ्जिता पक्षका कैलाश चौधरीलगायत १५ जनाको मात्र समर्थन छ भने विपक्षमा नेपाली काँग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा १ र स्वतन्त्रसहित ३७ जना विपक्षमा छन् ।
यस अघि मुख्यमन्त्री स्वडारीले टीका थापालाई विशेष अधिवेशनमा सहभागी भएको भन्दै मन्त्रीबाट वर्खास्त गरिएको थियो ।
एमालेले समर्थन फिर्तासँगै अल्पमतमा परेका स्वडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यताको अवस्थामा रहदैं आएको छ भने स्वडारीको वर्हिगमनसँगै सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनेपछि बजेट शून्यताको अवस्था अन्त्य हुनेछ ।

को होलान् सुदूरपश्चिमको मुख्यमन्त्री ?
स्वडारीको वर्हिगनमपछि बन्ने सुदूरपश्चिम सरकारको नेतृत्व कसले गर्लान् भन्ने विषयमा अनेकन् अड्कलवाजी शुरू भएपनि अन्ततः कुनै घात, जालझेल र षड्यन्त्र नभए नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री कमलबहादुर शाह नै यसपटक पनि मुख्यमन्त्रीका दोहरिने सम्भावना प्रवल छ ।
तथापि केन्द्रीय समीकरण अनुसार सहजै सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने अवस्था रहेकाले मुख्यमन्त्रीमा करिव आधा दर्जन आकाँक्षी देखिएका छन् ।
स्रोतका अनुसार पूर्व मन्त्री प्रकाश देउवा, कञ्चनपुरका दिवानसिंह बिष्ट, र बहादुरसिंह थापा तथा अछामका मेघराज खड्काले समेत मुख्यमन्त्रीमा चाहना देखाएका छन् ।
मुख्यमन्त्रीमा शाह दोहरिने सम्भावना क्षीण भएका अवस्थामा प्रकाश देउवा नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने अवस्था आए आश्चर्य मान्नु पर्ने छैन ।