गठवन्धनको जितसँगै शैक्षिक समस्या समाधान हुनेः रामजनम चौधरी

न्यूज सम्बाददाता
टीकापुर, १ कार्तिक
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरीले राजनीतिक सहमति र सहकार्यबाट मात्र मुलुकको विकास सम्भव हुने बताएका छन् ।
उक्त कुरा नेता चौधरीले दीपावली र छठ पर्वका अवसरमा नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा मंगलबार टीकापुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बताएका हुन् ।
कैलाली क्षेत्र नं.–१ बाट प्रतिनिधि सभा सदस्यका लागि गठवन्धनका उम्मेदवार समेत रहेका उनले वर्षौंदेखिका शिक्षा क्षेत्रका समस्या समाधानका लागि स्थिर सरकार आवश्यक भएकोले गठवन्धनको जितसँगै विद्यमान शैक्षिक समस्या समाधान हुने बताउँदै त्यसका लागि आफु लागी पर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले २०७२ को टीकापुर घटनाले सामाजिक सद्भावमा रेखा कोरे पनि यसको व्यवस्थापन र सद्भाव कायम गर्न सोंचमा सकारात्मकता, व्यवहारमा हार्दिकता आवश्यक भएको र यसका लागि शिक्षकवर्ग बढी क्रियाशील बन्न जरूरी रहेको औंल्याएका छन् ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सभा ‘ख’का उम्मेदवार रणबहादुर रावलले संविधान रक्षाका लागि गठबन्धन अपरिहार्य भएकोमा जोड दिएका छन् ।
उनले एमाले अध्यक्ष केपी वलीको लहडका कारण देश र संविधान सङ्कटमा पर्ने अवस्था आएकै कारण गठबन्धन जन्मिएको भन्दै मंसिर ४ को निर्वाचन संविधान बचाउने र मास्नेबीचको युद्ध हो त्यसैले यस युद्धलाई परिणाममुखी बनाउन शिक्षकवर्ग को भूमिका अहम् छ भनेका छन् ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका रावलले विगतका हरेक जनआन्दोलनमा शिक्षकको क्रियाशीलता र सक्रियता महत्वपूर्ण थियो र अहिले पनि छ भन्दै शिक्षकका माग मुद्दालाई सम्बोधन गर्न गठबन्धन लाई जिताउन जरूरी भएको बताएका छन् ।
त्यस्तै प्रदेश सभा ‘क’मा गठवन्धनका तर्फबाट उम्मेदवार एवं माओवादी केन्द्रका नेता दीर्घराज विनाडीले गत स्थानीय निर्वाचनको समीक्षा गरेर अघि बढ्नु पर्ने बताउँदै प्राविधिक कारणले त्यतिखेर हाम्रो हार भएपनि अहिले विगतका कमजोरीलाई समिक्षा गर्र्दै अघि बढ्दा गठवन्धनको जितलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
नेपाल शिक्षक कैलाली सदस्य बमबहादुर क्षेत्रीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा संघका कैलाली अध्यक्ष गणेश ओझाले शिक्षकका माग मुद्दाको सम्बोधन गठवन्धन कै जितमा निर्भर रहने बताउँदै गठवन्धनका पक्षमा माहोल बनाउन सबै आ–आफ्ना क्षेत्रबाट सक्रिय हुन जरूरी छ भनेका छन् । र, उक्त कार्यक्रममा स्वागत एकीकृत अखिल नेपाल शिक्षक संगठन टीकापुर अध्यक्ष जोगी रावलले गरेका थिए ।