बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले कैलाली क्षेत्र नं.–१ को आह्वान

न्यूज सम्बाददाता
टीकापुर, २४ असोज
लगातारको वर्षा पछि आएको बाढीबाट कैलालीको सुदूरपूर्वी क्षेत्रका प्रभावितहरूको उद्धार एवं राहतका लागि जुट्न एमालेद्वारा आह्वान गरेको छ ।
पार्टीको क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.–१ कैलालीले यस क्षेत्रका बाढी प्रभावितहरूको उद्धार एवं राहतमा खट्न आफ्ना सबै तहका कार्यकर्ताहरूलाई आह्वान गरेको हो ।
पार्टीका क्षेत्र नं.–१ कैलालीका संयोजक श्याम खत्रीद्वारा सोमबार जारी विज्ञप्ति मार्फत उक्त आह्वान गरिएको हो ।
उक्त विज्ञप्तिमा गत ५ दिनदेखिको अविरल वर्षापछि कर्णाली लगायत अन्य नदीमा पानीको सतह बढेर यस क्षेत्रमा भएको डुबान र क्षतिप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
कर्णाली नदीमा अझै पनि पानीको सतह सामान्य भइ नसकेको र वर्षा जारी रहेका अवस्थामा थप क्षति समेत निम्त्याउन सक्ने सम्भावनालाई विशेृष ध्यान दिन भनिएको छ ।
एमालेले ‘सम्भावित क्षतिलाई रोक्न र न्युनीकरण गर्न तिनै तहका सरकार र सबै क्षेत्रलाई सहकार्यका लागि आग्रह गर्दै स्थानीय स्तरमा क्रियाशील दातृ निकाय र संस्थालाई यथाशिघ्र आफ्ना उद्धार र राहतका कार्यक्रम ल्याउन सुझाएको छ ।
यस विपद्का घडीमा एमाले क्षेत्रीय समन्वय कमिटीले पार्टीका सबै तह तप्का र जिम्मेवारीमा रहेका नेता एवं कार्यकर्ताहरू उद्धारमा सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ ।