टिकट खोसिएपछि डा. भीम रावलको मौनताः झपट बोहरालाई धक्का, गठवन्धनका कुँवरलाई पक्काको अवस्था

न्यूज सम्बाददाता
टीकापुर, २४ असोज
नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्व उप प्रधानमन्त्री डा. भीम रावलले आफूलाई टिकट नदिएको विषयमा हालसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन् ।
उक्त कुरा डा. रावलले सोमबार साँझ सामाजिक सञ्जालमा ट्वीट गर्दै बताएका हुन् ।
उनले ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’ भनेका छन् ।
आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गर्नु कुनियत भएको बताउँदै डा. रावलले यसबारे उचित समयमा बोल्ने जनाएका छन् ।
‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु,’ डा. रावलले आफ्नो ट्वीटमा लेखेका छन् ।
डा. रावलको नाम अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिश गरिएपनि टिकट नपाएपछि मौनता साँधेर बसिरहेका छन् ।
तथापि उनको सट्टामा एमाले अछामका इञ्चार्ज झपट बोहरालाई पार्टी अध्यक्ष केपी शर्मा वलीले टिकट दिएपछि डा. रावलका शुभेच्छुक स्थानीय नेता तथा कार्यकर्ताहरूले वलीविरूद्ध अछाममा नारी वाजीसहित प्रत्याशी बोहरालाई उम्मेदवारी दर्ताका क्रममा आइतबार कालो झण्डा समेत देखाएका छन् ।
त्यस्तै डा. रावलमाथि पूर्वाग्रही एवं प्रतिशोधपूर्ण व्यवहार अध्यक्ष वलीबाट गरिएको भन्दै नेकपा एमाले अछामका चार जना सचिवालय सदस्यसहित झण्डै चार दर्जन जिल्ला र स्थानीय कमिटीका सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनीहरूको विद्रोहले एमाले उम्मेदवार झपट बोहरालाई थप धक्का लाग्ने र जसको प्रत्यक्ष फाइदा गठवन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरलाई पुग्ने आँकलन गर्न थालिएको छ ।