तताउँदै एमाले चुनावी माहौलः कैलाली क्षेत्र नं.–१ मा तोक्यो चुनावी कमाण्डर

न्यूज सम्बाददाता
टीकापुर, २८ असोज
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलाली क्षेत्र नं.–१ चुनावी अभियानमा होमिएको छ ।
उक्त पार्टीद्वारा शुक्रवार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कैलाली क्षेत्र नं.–१ मा चुनाव परिचालनका लागि कमाण्डर तोक्दै जिम्मेवारी दिएको छ ।

पार्टीको कैलाली क्षेत्र नं.–१ स्तरीय क्षेत्रीय समन्वय कमिटीले निर्वाचन परिचालनका लागि प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’का लागि मूल परिचालन कमिटी बनाएको हो ।
एमाले नेता एवं सुदूरपश्चिम प्रदेश कमिटी सदस्य प्रेमबहादुर साँउदको संयोजकत्वमा १ हजार १५ सदस्यीय क्षेत्र नं.–१ निर्वाचन परिचालन मूल कमिटी गठन गरिएको हो ।
उक्त परिचालन कमिटीमा प्रदेश कमिटी सदस्यद्वय डिल्लीराज जोशी उप–संयोजक र मातृका तिमिल्सैनालाई सचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रदेश कमिटी सदस्यहरूलाई मूल परिचालन कमिटी सचिवालय सदस्यको जिम्मेवारी दिएको छ ।
उता प्रदेश सभा ‘क’ तर्फ मूल परिचालन कमिटी संयोजकको जिम्मेवारी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य प्रेम चौधरीलाई दिइएको छ भने गणेश पाठक उप–संयोजक र राजु बम सचिव रहेका छन् । बम जसपाका सुदूरपश्चिम प्रदेश सचिव हुन् ।
यता प्रदेश सभा ‘ख’मा भने मूल परिचालन कमिटीको संयोजकमा श्याम खत्री, उप संयोजकमा खडक साउँद र सचिवमा रामकृष्ण चौधरी रहेका छन् ।
खत्री गत स्थानीय निर्वाचनमा टीकापुर नगरपालिकाका मेयरका प्रत्याशी एवं जिल्ला सचिवालय सदस्य हुन भने साउँद र चौधरी जिल्ला सदस्य हुन् ।
एमालेले कैलाली कैलाली क्षेत्र नं.–१ मा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ ।
ती दल प्रतिनिधि सभा र प्रदेश सभा ‘ख’मा एमाले र ‘क’मा जनता समाजवादी का उम्मेदवारलाई सघाउने गरी चुनावी मोर्चामा सहभागी भएका छन् ।
एमाले पार्टी कार्यालयमा आयोजित भेलामा बोल्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले देशको स्वाभिमान र विकासका लागि एमालेको जित अनिवार्य रहेकोले जनताको घर आँगनमा गएर विजय अभियान शुरू गर्न जोड दिएका छन् ।
एमाले नेतृत्व्को सरकारले विगतमा गरेका जनपक्षीय कामहरूलाई लिएर जनताका बीचमा जानु पर्ने बताउँदै सचिव पाठकले एमालेको सरकार नभए देशको विकास र अग्रगामी परिवर्तन हुन नसक्ने दावी समेत गरेका छन् ।
सोही भेलामा बोल्दै कैलाली क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तपेन्द्र रावलले आफुलाई जनताले मत दिएर जिताएमा इमान्दारीपूर्वक जनता र देशको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा ‘ख’का उम्मेदवार द्वारिका न्यौपानेले टीकापुरको विकासका लागि दीर्घकालीन योजना हुनुपर्ने र त्यसको कार्यान्वयन गर्न इमान्दार नेतृत्व आवश्यक रहेको बताउँदै उनले आफु निर्वाचित भएमा टीकापुरको मुहार बदल्न लाग्ने बताएका छन् ।
सोही भेलामा बोल्दै प्रदेश सभा ‘क’का जनता समाजवादी नेपालका उम्मेदवार भगतराम चौधरीले एमाले र जनता समाजवादीबीचको सहकार्यले टीकापुरको विकासमा योगदान पुग्ने भएकाले तालमेल अनुसार मत खसाउन सबैमा आग्रह गरेका छन् ।