नागरिक उन्मुक्ति पार्टीमा पनि विद्रोह शुरूः दुई वागीमाथि कारवाही, बागी भन्छन–‘थारूका माग मुद्दा भन्दा श्रीमान्–श्रीमती प्राथमिकतामा’

न्यूज सम्बाददाता
टीकापुर, २८ असोज
नागरिक उन्मुक्ति पार्टी गठनको नौ महिना नपुग्दै उक्त पार्टीभित्र विद्रोहका झिल्का देखिन शुरू भएका छन् ।
गत स्थानीय निर्वाचनमा कैलालीका सुदूरपूर्वी टीकापुर, भजनी नगरपालिकाका अतिरिक्त जानकी र जोशीपुर गाउँपालिकामा अप्रत्याशित जितसँगै चम्केको नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो पटक अन्य पार्टीबाट प्रवेशको बाढी नै आएको छ ।


उक्त पार्टीमा आएको पार्टी प्रवेशको बाढीले दल दर्ताका क्रममा निक्कै सक्रिय भएर लागेका कार्यकर्ता एवं नेतालाई निराश मात्र बनाएको छैन उनीहरूलाई पार्टीभित्रै विद्रोह गर्न बाध्य बनाएको छ ।
त्यसैको ज्वलन्त उदाहरण हो आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नं.–१ को ‘क’ र ‘ख’ क्षेत्रमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध केन्द्रीय सदस्य सन्तोष कठरिया र टीकापुर नगर अध्यक्ष गणेशकुमार चौधरीको विद्रोह ।
उनीहरूको विद्रोहले नागरिक उन्मुक्ति पार्टीलाई आसन्न निर्वाचनमा धक्का दिने सम्भावना बढेर गएको छ ।

गत स्थानीय निर्वाचनमा ‘बाबा तुहाँर छावा जेलम् पर वा…..’ जस्ता गीत गाउँ गाउँमा घन्काएर बटुलेको थारूवर्गको जनमत र विश्वास खस्किने सम्भावना बढेर गएको छ ।

सन्तोष र गणेशको विद्रोहले नागरिक उन्मुक्ति पार्टी अध्यक्ष एवं रेशम पत्नी रञ्जिता श्रेष्ठलाई विद्रोहको सामना र व्यवस्थापन गर्नु नै मुख्य चुनौति बनेको छ ।
२०७२ को टीकापुर घटनापछि थारूवर्गको भावनात्मक एकतालाई जोड्न २०७९ पौष १९ मा जन्मिएको नागरिक उन्मुक्ति पार्टीभित्र नौ महिनामै थारूवर्ग त्यो पनि केन्द्रीय अध्यक्ष रञ्जिता र रेशमकै आफ्नै क्षेत्र टीकापुरबाट विद्रोह हुनुलाई अर्थपूर्णरूपमा हेरिन थालिएको छ ।
समाचार श्रोत दावी गर्छ उन्मुक्ति पार्टीभित्र असन्तुष्टिका स्वर र विद्रोहको झिल्का गत स्थानीय निर्वाचन लगत्तै जिल्ला समन्वय समितिको निर्वाचनपछि विस्तारै भुसको आगो जस्तै बन्दै गएको हो ।
जिल्ला समन्यव समिति कैलाली प्रमुखको निर्वाचनमा टीकापुर नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लालबीर चौधरीलाई अन्तिम अवस्थामा पछाडि तानेर आफ्नै गृह वडा जानकी गाउँपालिका वडा नं.–६ का वडाध्यक्ष इन्द्र चौधरीलाई उम्मेदवार बनाइए पछि पार्टीमा विद्रोहको झिल्का शुरू भएको हो ।
श्रोतको दावी छ–‘नारामा उत्पीडनमा परेका वर्गको मुक्ति र उत्थान तर व्यवहारमा भने आफ्नै गाउँवस्ती, आफै परिवारको घेराको उत्थान’ मात्र झाङ्गिदै जाने क्रममा कमी नआएपछि यो झिल्काले मंसिर ४ को निर्वाचनपछि अझ उग्ररूप लिने बताइन्छ ।
स्थानीय निर्वाचनदेखि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म पुग्दा पार्टीभित्र प्रवेश गरेका व्यक्तिहरूको हाली मुहाली बेस्सरी बढेपछि निस्वार्थ रूपमा हेपिएका चेपिएकोवर्गको उत्थानको अभियानमा ठेस पुग्दै जान थालेको बताइएको छ ।

पार्टी प्रवेशको लहरसँगै एमाले, काँग्रेस परित्याग गरेर आएकाहरूले एकाएक केन्द्रीय, प्रदेश नेतृत्वमा हैसियत पाएपछि ‘पुरानालाई पाखाः नयाँलाई काखा’ देखिँदै गएको छ यसलाई यथाशिघ्र व्यवस्थापन गर्न नसकिने हो भने पार्टी झन दुर्घटनामा पर्न सक्ने सम्भावना नजिकिएर जाने श्रोतले दावी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र कैलाली क्षेत्र नं.–१ मा प्राविधिक कारणले रेशम चौधरीको उम्मेदवारी हुन नसक्ने भएपछि अध्यक्ष एवं रेशम पत्नी रञ्जिताको उम्मेदवारीलाई स्वाभाविक र आवश्यकता ठानिएपनि रेशमको उम्मेदवारी बर्दिया क्षेत्र नं.–२ बाट हुनु (निर्वाचन आयोगद्वारा खारेज गरिएको अवस्था) त्यसैमाथि आफ्नै पिता लालबीर चौधरीलाई बागी बनाएर रेशमको उम्मेदवारी खारेजीपछि उनैलाई औपचारिक समर्थन गरिनु, कैलाली क्षेत्र नं.–४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैयाँ चौधरी (जो लालबीरको मामा नाता पर्छन्) लाई उम्मेदवार बनाएर अन्य क्षमता र सक्रियताका दृष्टिले निक्कै अब्बल रहेकाहरूलाई प्रदेशमा सीमित राखिनु, रतन थापालाई पार्टी प्रवेशसँगै महासचिव र कैलाली क्षेत्र नं.–२ ‘ख’बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाइनु, थापा पत्नी टीकालाई सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिलाको पहिलो सूचीमा राखिनुले पनि अब नागरिक उन्मुक्ति पार्टी नाममा मात्रै ‘उन्मुक्ति’ हुने चिन्ता बढ्न थालेको बताइएको छ ।
अन्य ठुला पार्टीभित्र मौलाउँदै गएको परिवारवादको संस्कृति नागरिक उन्मुक्ति पार्टीमा छोटो समय मै भित्रिनु पार्टी र स्वाभिमानी उत्पीडितवर्गको आत्मसम्मान र भावनामा आघात पुग्ने प्रवृत्ति भएको बताइएको छ ।

पार्टी भित्रबाट विद्रोह गर्दै प्रदेश सभा ‘ख’ क्षेत्रमा वागी बनेका नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगर अध्यक्ष गणेशकुमार चौधरीले टीकापुर न्यूजसँग भने–‘जुन आशा र भरोसाका साथ नागरिक उन्मुक्तिमा लागियो त्यो अब रहेन, पारिवारिक चुङ्गगलभन्दा पार्टी माथि उठाउन सकेन, नातावाद, कृपावाद र चाकरीवादले महत्व पायो । स्वाभिमान, क्रियाशीलता र इमानको कुनै मूल्याङ्कन भएन यस्तो अवस्थामा थारूवर्गको माग मुद्दा कसरी सम्बोधन हुन सक्छ ? त्यसैले टीकापुर घटनाका पीडित परिवारको स्वाभिमान र आत्मसम्मानका लागि विद्रोह गर्नु मेरो चाहना होइन वाध्यता हो ।’
अब थारूवर्गको नारा भजाएर आफ्नो आत्मोन्नति र विकासको मात्र सपना देख्नेहरूलाई मंसिर ४ ले राम्रो सबक सिकाउने दावी गणेशले गरेका छन् ।
त्यसैबीच नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रदेश सभामा बागी उम्मेदवारी दिने सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टी विधान बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरिएको जनाइएको छ ।
उन्मुक्ति पार्टीले यस क्षेत्रको ‘क’मा कैलाश चौधरी र ‘ख’मा लक्ष्मणकिशोर चौधरीलाई उम्मेदवार बनाएको छ ।