हामी एउटै डुंगामा यात्रा गरिरहेका छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौंः प्रचण्ड

न्यूज टीकापुर
सम्वाददाता
४ कार्तिक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन चुनावपछि पनि निरन्तर रहने कुरा शुक्रबार रुपन्देहीमा भएको एक कार्यक्रममा बताएका छन् ।
सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने यो गठबन्धनको ऐतिहासिक आवश्यकतालाई, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा, राष्ट्रको रक्षा, समानुपातिक समावेशीको रक्षाको विषयलाई अवमूल्यन गरेको ठहर्छ’ उनले भने ।
यो चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै प्रचण्डले ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, गठबन्धन भित्र रहेका पार्टीका नेता तथा कार्यकर्ताले यो नसोचौं कि चुनाव सकिएपछि गठबन्धन सकिन्छ, अनि मेरो पार्टीलाई जिताउँछु अरु जेसुकै गरुन् भन्ने नसोचौं । त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ ।’ प्रचण्डले भने, ‘हामी एउटै डुंगामा यात्रा गरिरहेका छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं ।’
अहिले गठबन्धनका दलहरुले एकले अर्कालाई मद्दत गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘किनकी यो गठबन्धन धेरै मिहिनेतले बनेको हो ।’