युवाहरूको क्रियाशीलता विना परिवर्तन र विकास असम्भवः ईश्वरी न्यौपाने

न्यूज सम्बाददाता
टीकापुर, १६ कार्तिक
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार ईश्वरी न्यौपानेले युवाहरूको क्रियाशीलता विना परिवर्तन र विकास असम्भव भएको बताएकीछिन् ।
उक्त कुरा नेता न्यौपानेले बुधबार नेपाल तरूण दल निर्वाचन परिचालन समिति क्षेत्र नं.–१ कैलालीद्वारा आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बताएकी हुन् ।
उनले आसन्न आमनिर्वाचन नेपालीहरूको भाग्य र भविष्यसँग गाँसिएकोेले लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि युवावर्ग विशेषरूपमा क्रियाशील हुन जरूरी रहेको बताएकीछिन् ।
गठबन्धनको जितपछि बन्ने सरकारले युवाको श्रम र पसिना नेपाली भूमिमै उपयोग हुने र मुलुकको समृद्धिमा युवा दृष्टिकोण, श्रम, सीपको भरपुर उपयोग हुने दृढता व्यक्त गरेकीछिन् ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं.–१ का उम्मेदवार रामजनम चौधरीले मुलुकको समुन्नति र विकासको मेरूदण्ड नै युवावर्ग भएकाले आगामी बन्ने गठवन्धनको सरकारले युवा लक्षित कार्यक्रममार्फत विकासको ढोका उघार्ने विश्वास व्यक्त गर्दै आसन्न निर्वाचनलाई तरूण पुस्ताले जीवन मरणको संग्रामका रूपमा लिनु पर्ने बताएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सभा ‘ख’का उम्मेदवार रणबहादुर रावलले मंसिर ४ को निर्वाचनलाई नतिजामुखी बनाउन तरूणहरूको भूमिका अहम् भएको बताउँदै तरूण निर्वाचनका लागि मात्र नभई मुलुक बदल्नका लागि पनि महत्वपूर्ण भएको बताएका छन् ।
उक्त कार्यक्रम नेपाल तरूण दल निर्वाचन परिचालन समिति क्षेत्र नं.–१ कैलाली संयोजक जयन्द्र शाहको सभापतित्वमा भएको हो ।
क्षेत्रभरका झण्डै १ हजार बढी युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रमकै अवसरमा एमाले वडा सचिव कृष्णबहादुर नेपाली, प्रकाश साउँद, जनता समाजवादी पार्टीका टीकापुर नगर अध्यक्ष दिनेश बिष्टलगायत तीन दर्जनले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।