रूसी फौजद्वारा युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण

समाचार एजेन्सी
युक्रेन, ३१ असोज
युक्रेनको राजधानी किभमा रूसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रूसी फौजले आक्रमण गरेको जनाएका हुन् ।
किभका मेयर भिताली क्लित्स्कोले शहरको सेभ्चेन्किभ्स्की क्षेत्रका आवासीय क्षेत्रलाई लक्षित गरी ‘कामीकाजी’ ड्रोनबाट आक्रमण भएको जनाएका छन् ।
युक्रेनी रेल सेवाका अधिकारीले आक्रमणबाट किभको मुख्य स्टेशननजिकै क्षति पुगेको जनाएका छन् ।
सोमबार बिहान साढे ६ बजेको समयमा आक्रमण शुरू भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ८ बजेर १० मिनेटको समयसम्म ५ वटा विष्फोटको आवाज सुनिएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी फौजको हवाई प्रतिरक्षा बलले ड्रोन खसाल्न प्रयास गरेको देख्न सकिन्छ । भिडियोमा कम्तीमा एउटा ड्रोन खसालिएको देखिएको जनाइएको छ ।
मेयर क्लित्स्कोले चारवटा विष्फोट भएको जनाएपनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पाँचदेखि ६ वटा विष्फोटनको आवान सुनिएको थियो ।
अधिकारीहरूले मानिसहरुलाई सुरक्षित स्थानमा रहन आह्वान गरेका छन् । आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।