प्रतिपक्षीले सेक्न खोजेको भ्रमको रोटी मंसिर ४ गते मतदाताले डढाइ दिनेः भगत बडुवाल

न्यूज सम्बाददाता
लम्की, ५ कार्तिक
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कैलाली क्षेत्र नं.–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बडुवाल ‘मुक्ति’ले प्रतिपक्षीहरू विकास र जनजीविकाका सवाल भन्दा पनि भ्रमको खेतीमा जुटेको आरोप लगाउँदै उनीहरूको भ्रमको रोटी मंसिर ४ को निर्वाचनपछि जनताले डढाइ दिने बताएका छन् ।
उक्त कुरा बडुवालले शनिवार कैलालीको लम्कीमा शिक्षक तथा वुद्धिजीवी गठबन्धन चुनाव परिचालन समिति क्षेत्र नं.–२ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बताएका हुन् ।
उनले आफुभित्रको आन्तरिक व्यवस्थापन गर्न नसकेर भ्रमको खेतीमा तल्लीन तत्वबाट गठवन्धन रत्तिभर विचलित नभई अझ सुदृढ बन्दै गएको दावी गर्दै गठवन्धन प्रतिको जनविश्वासबाट तिलमिलाएर उनीहरू भ्रमको खेतीमा लागेका बताएका छन् ।
प्रतिपक्षीले आफुमाथि धन सम्पत्ति जोडेको राजनीतिमा पलायन भएर फेरि आएको जस्ता भ्रम जनताका बीच छरिरहेको बताउँदै नेता बडुवालले–‘मैले धन होइन ऋण थुपारेर रोजगारीका अवसर सिर्जना गरेको, राजनीतिलाई सेवामूलक वनाउन व्यवसायमा लागेको छु, बरू व्यवसाय विनाको राजनीति गर्नेहरूको आर्थिक हैसियत कसरी बढ्यो ? जनताले सोध्नु पर्ने बेला आएको छ’ भनेका छन् ।
हामी इमान बच्दैनौं बेइमान बन्दैनौं जनतामाथि कहिल्यै गद्दारी गर्दैनौं भन्दै नेता बडुवालले गठवन्धनका पक्षमा नतिजा निकाल्न बुद्धिजीवीवर्गको भूमिका अहम् भएकोमा जोड दिएका छन् ।
सोही कार्यक्रममा बोल्दै क्षेत्र नं.–२ प्रदेश सभा ‘क’मा नेपाली काँग्रेसका उम्मेदवार कमल शाहले अनावश्यक भ्रम फैलाएर गठवन्धनलाई कमजोर बनाउन कसैले देखेको सपना मंसिर ४ गतेको निर्वाचनले चकनाचुर पार्ने बताएका छन् ।
उनले गठवन्धनभित्रका उम्मेदवारहरूका बारे विभिन्न पक्ष र तप्कासँग जोडेर आपसमा अविश्वास पैदा गर्न खोज्ने तत्वबाट सजक भएर अघि बढौं जीत सुनिश्चित छ भनेका छन् ।
क्षेत्रको विकासका लागि राजनीतिभन्दा माथि उठ्न सकेमात्र समग्र सामाजिक परिर्वतन र जनतामा विश्वास बढ्ने बताउँदै नेता शाहले ‘राजनीतिभन्दा विकास गठवन्धनको पहिलो प्राथमिकता हो’ भनेका छन् ।
त्यस्तै क्षेत्र नं.–२ प्रदेश सभा ‘ख’मा माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर साउँद ‘राजेन्द्र’ले गठवन्धन मुलुक र विकासका लागि वाध्यता र आवश्यकता भएकोमा जोड दिदैं आफुहरूले आपसमा शङ्का होइन दृढता र विश्वासका साथ अघि बढेर नतिजा हासिल गर्न तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर स्वडारी ‘दर्शन’ले गठबन्धन हारे प्रतिगमन जित्ने हुँदा मुलुक र संविधान सङ्कटमा पर्न सक्ने खतराको अन्त्यका लागि पनि गठवन्धनलाई जिताउनुको विकल्प नभएकोमा जोड दिएका छन् ।
उनले मुलुकको राजनीतिक स्थिरता र दीगो विकासका लागि गठबन्धन एकमात्र विकल्प भएकोले हामीलाई अर्काका भोट चोर्न जरूरी छैन आफ्नै भोटमात्र सुरक्षित राख्न सके अन्य दल र उम्मेदवारले केही गलाउन नसक्ने ठोकुवा समेत गरेका छन् ।
शिक्षक तथा वुद्धिजीवी गठबन्धन चुनाव परिचालन समितिका संयोजक देवेन्द्र शाहको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा चुनाव प्रचार प्रसार समिति क्षेत्र नं.–२ का सचिव विष्णु खनाल, नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा, सदस्य दीपा बुढा र रण भण्डारी लगायतकाले गठवन्धनका पक्षमा निर्धक्क साथ लाग्न आह्वान गरेका छन् ।