जातीयता, क्षेत्रीयता र भेगीय नारा विकास र स्थिरताको वाधकः ईश्वरी न्यौपाने

न्यूज सम्बाददाता
टीकापुर, ५ कार्तिक
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार ईश्वरी न्यौपानेले विकास, समृद्धि र स्थायित्वका लागि गठबन्धन अपरिहार्य भएको बताएकीछिन् ।
उक्त कुरा नेता न्यौपानेले शनिवार टीकापुर नगरपालिका वडा नं.–५ को मनिकापुरमा वडा सम्पर्क कार्यालय उद्घाटनका क्रममा बताएकी हुन् ।
उनले जातीयता, क्षेत्रीयता र भेगीय नारा विकास र स्थिरताको वाधक भएकाले परिवर्तन र विकासका लागि संकीर्णताभन्दा माथि उठ्न जरूरी भएको औंल्याएकीछिन् ।
सोही कार्यक्रममाा बोल्दै काँग्रेस केन्द्रीय सदस्य एवं कैलाली क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजनम चौधरीले टीकापुर क्षेत्रको नदी नियन्त्रण आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् ।
टीकापुर क्षेत्रमा वर्षेनी हुने कटान र डुवानको न्युनीकरणका लागि कर्णाली चिसापानीदेखि ५ किलोमिटर तलसम्म उत्खनन् पूर्णरूपमा रोक लगाउनु पर्नेमा जोड दिदैं स्थानीय सरकारले नदीजन्य पदार्थको ठेक्कापट्टा रोक्नु पर्छ भनेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सभा ‘ख’का उम्मेदवार रणबहादुर रावलले दौलतपुर घाटमा पुल निर्माणका लागि विशेष पहल गरिने, नुक्लीपुरस्थित खेलकुद रंगशालालाई प्रतिष्ठानका रूपमा विकास गर्न कै लागि चालु आर्थिक वर्षका लागि ८ करोड रूपैयाँ विनियोजन गरिएको र टीकापुर क्षेत्रको विकास र सामाजिक सद्भावका लागि गठवन्धन नै एक सशक्त विकल्प भएकोमा जोड दिएका छन् ।
गठबन्धनका वडा संयोजक गगनसिंह ठकुल्लाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता नेपबहादुर चौधरी ‘सिंहराज’ लगायतले बोलेका थिए भने सम्पर्क कार्यालयको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार हेमराज भट्टराई र काँग्रेस नेतृ ईश्वरी न्यौपानेले संयुक्तरूपमा गरेका हुन् ।
उक्त कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवं प्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार रूपा चौधरी र नेपाली काँग्रेसकी प्रदेश सभा समानुपातिक उम्मेदवार ललिता सुनार समेत सहभागी थिए ।