धार्मिक सहिष्णुताका लागि आफु पुलको रूपमा काम गर्न तत्परः राप्रपा उम्मेदवार कुँवर

न्यूज सम्बाददाता
जोशीपुर, ६ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका कैलाली क्षेत्र नं.–१ का उम्मेदवार लोकेन्द्र कुँवरले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि आफु पुलको रूपमा काम गर्न तत्पर रहेको बताएका छन् ।
उक्त कुरा कुँवरले शनिवार राति कैलालीको जोशीपुर गाउँपालिका वडा नंं.–३ लक्कडस्थित कोपिला युवा क्लवद्वारा आयोजित दिया दिवारी साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिकारूपमा बोल्दै बताएका हुन् ।

उनले २०७२ को टीकापुर घटनापछि आपसी हार्दिकतामा कमी आएको अनुभूति सबैमा रहेको र यसलाई चिर्न र धार्मिक सुहिष्णताको भावमा जोड्न आफ्नो पार्टी राप्रपा र आफु सदा क्रियाशील रहने बताएका हुन् ।
सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं प्रदेश सभा ‘क’मा नागरिक उन्मुक्ति पार्टीका वागी उम्मेदवार सन्तोष कठरियाले विकासका लागि जातीयता भन्दा माथि उठ्न र आफ्नो निहीत स्वार्थका लागि कसैले जातीयता कुरा गर्छ भने त्यो आत्म उन्नति र प्रगतिका लागि गरिने चुनावी फण्डामात्र हो भनेका छन् ।
त्यस्तै सोही सभामा बोल्दै अर्का विशिष्ट अतिथि एवं प्रदेश सभा ‘क’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीमबहादुर बमले सामुदायमा रहेको वर्षौंदेखिको सामाजिक सद्भावलाई जीवन्त राख्न सकेमात्र आपसी वन्धुत्व, पारस्परिक सम्बन्ध, मित्रता जीवन्त रहनेमा जोड दिदैं परम्परागत संस्कृतिको संरक्षणमा युवावर्ग बढी क्रियाशील बन्नु पर्ने सुझाएका थिए ।
निशा कठरियाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमिला कठरिया र इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख एवं सई चंख कठायत लगायतले संस्कृति संरक्षणका नाममा भड्किलो नबन्न सुझाएका थिए ।