आसन्न निर्वाचन अग्रगमन र प्रतिगमनबीचको महासंग्रामः प्रचण्ड

न्यूज सम्बाददाता
धनगढी, ६ कार्तिक
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देश दुर्घटनाको विषम परिस्थितिको मोडमा उभिएकोले देश र संविधानलाई दुर्घटनाबाट जोगाउन गठवन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन् ।
उक्त कुरा सभापति देउवाले आइतबार धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय सत्ता गठबन्धनको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै बताएका हुन् ।
सभापति देउवाले देश गम्भीर मोडमा उभिएको छ देश चुनावपछि कता जाने ? भन्ने संशय रहेको बताउँदै संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन जरूरी रहेकोमा विशेष जोड दिएका छन् ।
त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा विशिष्ट परिस्थितिमा निकै ठुलो संघर्ष र मेहनतपछि गठवन्धन जन्मिएको बताएका छन् ।
उनले संविधान, लोकतन्त्र, गणतन्त्र, समावेशिता, संघीयता, धर्म निरपेक्षता नै धरापमा पर्न खोजेपछि यसको रक्षाका लागि गठवन्धन जन्मिएको हो भनेका छन् ।
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठवन्धन जरूरी भएकोमा जोड दिदैं प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्नु र देशलाई विकास र समृद्धिको बाटोमा लैजान सबै सम्वेदनशील र जिम्मेवार बन्न जरूरी भएको बताएका छन् ।
आसन्न निर्वाचन अग्रमगन र प्रतिगमन पक्षधरबीचको महासंग्राम भएको बताउँदै प्रचण्डले वर्तमान संविधानको खारेजी, राजसंस्थाको पुर्नस्थापना, विकास होइन विनाशतर्फ केन्द्रित गर्न चाहने तत्वलाई परास्त गर्न नसके मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने खतरा बढेको औंल्याएका छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्नेमा जोड दिएका छन् ।
‘म काँग्रेसको हुँ भनेर रूखबाहेक अरूमा भोट हाल्दैन भनेर हुँदैन,’ उनले भने,–‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन ।’ गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो ।
उक्त कार्यक्रमलाई नेपाली काँग्रेसका नेता रामचन्द पौडेलले समेत सम्बोधन गरेका छन् ।
उक्त संयुक्त प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका सवै जिल्लाबाट गठबन्धन दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश अध्यक्ष उत्सवका अनुसार संयुक्त प्रशिक्षण कार्यक्रममा गठबन्धन दलका प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला सभापतिसहित पाँच जना तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार समेत गरी ५ शय ८ जनाको सहभागिता रहेको छ ।
प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताहरू आज विहान मात्र धनगढी आइपुगेका हुन् ।