दुई सातादेखि जुम्लामा विद्युत अछाममा टेलिफोन सेवा अवरूद्ध

न्यूज सम्बाददाता
अछाम, ८ कार्तिक
कर्णाली प्रदेशको विकट पहाडी जिल्ला जुम्लाको सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत सेवा अवरूद्ध भएको छ ।
गत असोज तेस्रो साताको अविरल वर्षापछिको बाढी पहिरोले राष्ट्रिय प्रशारण लाइनमा क्षति गरेपछि विद्युत आपूर्ति अवरूद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार बाढी पहिरोबाट जुम्ला र कालिकोट खण्डमा ९० वटा पोलमा क्षति पुगेको छ ।
‘खलङ्गामा दुई सातादेखि विद्युत आपूर्ति भएको छैन’, उनले भने,–‘स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत आयोजनाको बिजुली वितरण भइरहेको छ ।’
अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ । क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम भइरहेको छ । सडक अवरूद्ध भएकाले विद्युत सामाग्री ओसारपसारमा समस्या भएको केन्द्रले जनाएको छ ।
त्यसैबीच सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा गत तीन सातादेखि नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ ।
टेलिकमको साँफेबगर नगरपालिका वडा नं.–५ नवाठानास्थित टावरले तीन सातादेखि काम गर्न छोडेको बताइएको छ ।
अछाममा विद्युत जाने बित्तिकै नेपाल टेलिकमको सेवा अवरूद्ध हुने गरेको स्थानीयले बताएका छन् ।
असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण भत्किएका विद्युतका पोल हालसम्म मर्मत गरिएको छैन ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामले मर्मत गर्ने काम टेलिकमकै भएको बताएको छ । सेवा अवरूद्ध भएको पटक पटक जानकारी गराउदाँ पनि टेलिकमले कुनै वास्ता नगरेको स्थानीय वासिन्दाले बताएका छन् ।