नेपाल टेलिकमद्वारा आजदेखि सामुहिक एसएमएस सेवा शुरू

न्यूज सम्बाददाता
काठमाडौं, ८ कार्तिक
नेपाल टेलिकमले कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालन गर्ने भएको छ ।
टेलिकमले उक्त सेवा मंगलबारदेखि सञ्चालनमा ल्याउने भएको हो । यो सेवा आजदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।
यो अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ ।
प्रति सन्देश ५० पैसा मात्रमा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार रूपैयाँ मात्र लाग्नेछ ।
त्यसैगरी २ हजार ५ शय रूपैयाँमा ५ दिनभित्र ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजार रूपैयाँमा १० दिन भित्र १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ ।
कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुर मा कुनैपनि अन्य कर समावेश छैन ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनु पर्नेछ ।
यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट सामुहिक सन्देश पठाउनको लागि आफ्नो सम्पर्कमा भएका नम्बरहरू एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।
यस अफरबाट ग्राहकहरूले लाभ लिने विश्वास लिएको टेलिकमले जनाएको छ ।