बर्दगोरिया गाउँपालिकाद्वारा गर्भवती र सुत्केरी महिलाबाट कुनै शुल्क नलिने

न्यूज सम्बाददाता
कैलाली, ८ कार्तिक
कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिकाले स्वास्थ्य चौकीहरूलाई गर्भवती तथा सुत्केरी महिलाबाट कुनै शुल्क नलिन भनेको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा लिन आउने गर्भवती तथा सुत्केरी महिलाहरूसँग प्रयोगशाला सेवाको शुल्क लिएको थाहा भएपछि गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको निर्देशनमा त्यस्ता सेवाग्राहीबाट अबदेखि कुनै शुल्क नलिइने भएको हो ।
गाउँपालिकाले सबै स्वास्थ्य केन्द्रहरूलाई निर्देशन समेत दिइ सकिएको जनाएको छ ।
सरकारले आमा सुरक्षा कार्यक्रमलाई निःशुल्क र प्रभावकारी बनाउन बजेटको व्यवस्था गरेको छ ।
अध्यक्ष कुँवरले पालिकाभित्रका स्वास्थ्य चौकीहरूले गर्भवती तथा सुत्केरी बाट प्रयोगशाला शुल्क लिने गरेको गुनासो आएपछि हामीले त्यसलाई तत्काल रोकेका छौं भनेका छन् ।
त्यस अघि पालिकाभित्रका स्वास्थ्य केन्द्रहरूले गर्भवती तथा सुत्केरी महिलाबाट प्रयोगशाला शुल्क बापत ४ शय रूपैयाँ लिँदै आएका थिए ।