सुदूरपश्चिमको विकासका लागि बीरबहादुर बलायरको जित आवश्यकः प्रेम आले

न्यूज सम्बाददाता
सहजपुर कैलाली, ८ कार्तिक
नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरूको कर्तव्य भएको बताएका छन् ।
उक्त कुरा बलायरले सोमबार कैलाली क्षेत्र नं.–४ अन्र्तगतको चुरे गाउँपालिका वडा नं.–३ सहजपुरस्थित बसर युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्दै बताएका हुन् ।
बलायर सत्ता गठवन्धनका तर्फबाट त्यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत हुन् ।
उनले जनतालाई मालिक ठानेर अघि बढ्न सकेमात्र जनतामा परिवर्तन र अपनत्वको अनुभूति हुने बताएका छन् ।
विगत दिनमा जनतालाई नोकर सम्झेर दासत्व लाद्न खोज्ने व्यक्ति तथा नेताको अन्त्य जनताले मंसिर ४ मा गर्ने बताउँदै उनले बाम–लोकतान्त्रिक गठ बन्धनका उम्मेदवार र सरकार जनतालाई शिरमा राखी मालिक सम्झेर सेवा मा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनताको सेवा, देश विकास र समृद्धिको सपना र चुनावी एजेण्डा मात्रै नभएर आफ्नो परम कर्तव्य भएको बताउँदै बलायरले आफू निर्वाचन लडेको क्षेत्र मात्रै नभै समग्र सुदूरपश्चिम र राष्ट्रकै जनताप्रति उत्तरदायी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘यो देशका युवा र खेलाडी राष्ट्रका सम्पत्ति हुन्,’ नेता बलायरले भने,–‘युवाहरूको चेतना, परिश्रम र मेहनतले मात्रै राष्ट्रको सर्वाङ्गीण विकास सम्भव छ । हालको अवस्थामा युवाहरू देशप्रति गम्भीररूपमा चिन्तित हुन जरूरी छ ।’
अघिल्लो सरकारको नेतृत्वमा रहँदा केपी शर्मा वलीले गरेका हर्कत, संविधान र न्यायिक निकाय माथिको हस्तक्षेप, प्रतिगामी कार्यशैली र युवा शक्तिको गलत प्रयोगका विरूद्ध एक ठाउँमा उभिएर युवाहरूले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न जरूरी रहेकोमा समेत उनको जोड थियो ।
सोही कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री प्रेमबहादुर आले मगरले केपी वलीको प्रतिगमनकारी भूमिकाको अन्त्य गर्दै देश र संविधान जोगाउन देशमा बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको बताउँदै देशको रक्षा र स्थायित्वका लागि गठबन्धनलाई जिताउन आव्हन गरेका छन् ।
नेता आलेले बीरबहादुर बलायर सुदूरपश्चिमकै बलिया र होनहार नेता भएकाले सुदूरपश्चिमको विकास र बलियो नेतृत्वको लागि उनले जित्न जरूरी रहेकोमा जोड दिदै सुदूरपश्चिमको विकासका लागि उनी अनिवार्य छन् भनेका छन् ।
सुदूरपश्चिमको विकासका लागि फास्ट ट्रयाक लगायतका ठूला योजना हरूमा बलायरको हस्ताक्षर छ भन्दै पूर्वमन्त्री आलेले सुदूरपश्चिमको समृद्धि र राजनीतिक संस्कारका लागि पनि बलायरलाई जिताउन जरूरी रहेकोमा जोड दिएका छन् ।
आले डोटीबाट गठवन्धनकातर्फबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार समेत हुन् ।
त्यसैबीच एमाले सुदूरपश्चिम अध्यक्ष एवं बैतडीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले सत्तारूढ दलहरूको चुनावी गठवन्धन लाई घोडा र भैँसीको जस्तै अप्राकृतिक र अस्तित्वहीन गठवन्धनको संज्ञा दिएका छन् ।
उक्त कुरा भण्डारीले हिजो पुरचौंडीमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् ।
उनले कुनै एजेन्डा नभएको सत्ता गठबन्धन स्वार्थका लागि बनेको र यो गठबन्धन घोडा र भैंसीजस्तो अप्राकृतिक रहेको बताउँदै ‘घोडा र भैँसी एक अर्कासँग मिल्नु अप्राकृतिक भए सरह माओवादी र काँग्रेसको गठबन्धन यस्तै हो’ भनेका छन् ।