तिमिल्सिनाको ‘आभास’ छन्द बचाऊ आन्दोलनको एकरूपः उपकूलपति डा. जोशी

 

न्यूज सम्बाददाता
टीकापुर, ९ कार्तिक
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी. एन. जोशीले सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिको उत्थान र विकास विना यहाँको पहिचान असम्भव भएको बताएका छन् ।
उक्त कुरा डा. जोशीले बुधवार स्रष्टा धनञ्जय तिमिल्सिनाको कृति काव्य संग्रह ‘आभास’को टीकापुरमा लोकार्पण गर्दै बताएका हुन् ।
डा. जोशीले बहुमुखी क्षमता र प्रतिभाका धनी तिमिल्सिनाको ‘आभास’ सालिन र सुन्दर छन्दवद्य नवीन शैलीमा सिर्जित कृति भएको र यसले छन्द बचाऊ आन्दोलनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
काव्यमा बहु छन्दको प्रयोग र भाव पक्ष अत्यन्तै बलियो, समसामयिक विषय वस्तुको उठान र जागरण सवल देखिएको बताएको छन् ।
निर्वाचन लगत्तै सुदूरपश्चिमका सबै जिल्लाका स्रष्टाको अभिलेखीकरण गर्न विभिन्न छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरेर यहाँका स्रष्टाको परिचय कोष निर्माण गरिने बताएका छन् ।
सुदूरपश्चिमको मौलिकता लोपोन्मुख अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै डा. जोशीले कर्णाली पारि पनि देश छ भन्ने चिनाउन यस क्षेत्रमा अभियान र जागरूकता जरूरी भएकोमा जोड दिँदै सुदूरपश्चिमको मौलिकता र पहिचानका लागि प्रतिष्ठानले आगामी दिनमा सशक्त भूमिका खेल्ने दृढता व्यक्त गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं मदन पुरस्कार विजेता महेशविक्रम शाहले काव्यकार तिमिल्सिना स्रष्टामात्र नभई आफु जस्तालाई साहित्यिक क्षेत्रमा लाग्न हौसला दिने प्रेरणाका श्रोत समेत भएको बताएका छन् ।
शाहले ‘आभास’माथि टिप्पणी गर्दै उक्त काव्यमा गद्य धारा, वाणिक छन्दमा रचित, माताबाट शुरूवात पितामा अन्त्य भएको १२ कविताको समग्र रूप, उच्च कल्पनाशीलता, सांसारिक अनुभूति अभिव्यक्त, सामाजिक विसंगतिप्रति कडा प्रहार, समसामयिक विषयबस्तुको उठान, देशप्रेम, व्यवस्था बदलिए पनि अवस्था नबदलिएको प्रति चिन्ता, बेरोजगारी, स्वार्थी प्रवृत्ति र माफियातन्त्रले जनता पिल्सिनु परेको प्रति रोष प्रकट पाइन्छ भनेका छन् ।
त्यस्तै गैरआवासीय संघ एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले स्रष्टा तिमिल्सिनालाई आफु जलेर अरूलाई उज्यालो छर्ने दीपको संज्ञा दिँदै पर्याप्त क्षमता र सम्भावना भएर पनि राजधानी छाडेर आफु गुमनाम भई टीकापुरमा आएर महेशविक्रम शाहजस्ता मदन पुरस्कार विजेता जन्माएको बताएका छन् ।
देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्वागत तिमिल्सिनाका पुत्र सञ्जय तिमिल्सिनाले गरेका थिए ।