केकी अधिकारी र राजदूत नोनाले शुभारम्भ गरे नेपालः ईयू फिल्म फेस्टिभल

न्यूज टीकापुर
सम्वाददाता
नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौंमा सुरु भएको छ । युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र अभिनेत्री केकी अधिकारीले फेस्टिभल शुभारम्भ गरे ।
चलचित्र विकास बोर्डमा आयोजित समारोहमा राजदूत डेप्रेजले मन्तव्य राख्दै फेस्टिभल समुद्घाटन गरिन् । फेस्टिभल संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै उनले यहाँ देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् ।
यसपटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुने जानकारी गराउँदै उनले दर्शकले बोर्डको हल र अनलाइनमा पनि हेर्न सक्ने जानकारी दिइन् । राजदूत नोनाले पहिलोपल्ट काठमाडौँबाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी गराएकी थिइन् ।
फेस्टिभलकी सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैँ र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखेकी थिइन् । केकीले युरोपियन फिल्म महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै दर्शकमा सिनेमा साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
उद्घाटनसँगै १ घन्टा समयावधिको रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’ शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो । ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाको रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ ।
मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी ४ फिल्म देखाइएको छ । शनिबार नै आर्काइभमाथि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा गाइबोर्ली र उलासा गुरुङबीच छलफल चलाइएको थियो ।
आइतबार पनि चार फिल्मसँगै वातावरण संरक्षणमा फिल्मको भूमिकाको विषयमा ह्युगो मेज र रोशनीअधिकारीबीच छलफल हुनेछ ।
महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन् । सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिमविश्वविद्यालय आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शन गरिने छन् ।
महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ ।
२९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले आफ्ना अनुभव साट्नेछन् ।
दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् ।
तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २ः०० बजे सञ्चालन हुनेछ । यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बिच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।
सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कर्णाली प्रदेशका चलचित्र विद्यार्थी तथा चलचित्रकमीहरुलाई मास्टरक्लास दिनेछन् ।