जनतालाई गफ र चुट्किला होइन विकास चाहिएको छः भगत बडुवाल

न्यूज सम्बाददाता
कैलाली खैरीफाँटा, १३ कार्तिक
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कैलाली क्षेत्र नं.–२ मा संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बडुवाल ‘मुक्ति’ले हिजोको गठबन्धनले स्थायी सरकार दिन सकेन, दुईतिहाई बहुमतको सरकारले लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्न खोज्दा अहिलेको परिस्थिति निर्माण भएको हो भन्दै मुलुक र संविधान रक्षाका लागि गठवन्धन वाध्यात्मक आवश्यकता बताएका छन् ।
उक्त कुरा बडुवालले आइतबार जानकी गाउँपालिका वडा नं.–९ खैरीफाँटामा संयुक्त लोकतान्त्रिक बाम गठवन्धन दलको चुनावी वडा सम्पर्क कार्यालयको उद्घाटनका क्रममा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै बताएका हुन् ।
अब देशका लागि राजनीतिक भन्दा पनि विकास, स्थिरता र संविधानको रक्षा जरूरी भएकोमा जोड दिदैं नेता बडुवालले जनतालाई गफ र चुट्किला होइन विकास चाहिएको छ भन्दै–‘हिजो विकास भन्दा पनि जोक चुट्किलामा समय बित्यो, अब विकास, स्थिरता र शान्ति चाहिएको छ’ भनेका छन् ।
सोही कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं.–२ प्रदेश सभा ‘क’ क्षेत्रका उम्मेदवार कमल शाहले केशरमार्ग र डुडेेंझाडी–टीकापुर सडक निर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
उनले आफु जगतपुरको धुलो माटोमा हुर्किएको र प्रजातान्त्रिक आन्दोलनका अग्रणी पुरूष स्व. केशरसिंह कडायतको नाममा निर्माण थालिएको केशरमार्ग पछिल्लो पटक अवरूद्ध भएको र यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले यस क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि केशरमार्ग, डुडेंझाडी टीकापुर सडक निर्माणका अतिरिक्त वर्षेनी हुने बाढी र डुवानको दीर्घकालीन समाधानका लागि रानी, जमरा कुलरिया सिँचाईं आयोजनासँग समन्वय गरेर दीर्घकालीन उपाय खोज्न आफु लागी पर्ने बताएका छन् ।
विगतका तिक्ततालाई विर्सिएर सबैमा आपसी विश्वास, सक्रियता र इमान जरूरी भएकोमा जोड दिदैं नेता शाहले मंसिर ४ को निर्वाचनमा गठवन्धनको पराजयले विकास, स्थिरता, शान्ति, र संविधानको कार्यान्वयन कमजोर हुने भन्दै विकासका राजनीतिभन्दा माथि उठेर अघि बढ्नु पर्ने बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै क्षेत्र नं.–२ स्तरीय गठवन्धन राजनीतिक दलका उच्च स्तरीय संयन्त्रमा संयोजक एवं काँग्रेस नेता मोहनसिंह राठौरले हिजोको बाम गठबन्धन स्वार्थ केन्द्रित थियो तर, अहिलेको संयुक्त लोकतान्त्रिक बाम गठबन्धन मुलुकको स्थिरता, समृद्धि र संविधानको रक्षाका लागि जरूरी भएको बताएका छन् ।
उनले सत्ता र स्थिरताका लागि, समृद्धि र गरिबीको अन्त्यका लागि, मुलुकमा सुशासन जरूरी भएकाले नै जनतामा परिवर्तनको प्रत्याभूति दिलाउन हामीबीचका सबै असन्तुष्टिलाई तिलाञ्जली दिएर अब म होईन हाम्रा लागि गठबन्धनको जीत आवश्यक भएकोमा जोड दिएका छन् ।
नेपाली काँग्रेस वडा नं.–९ का सभापति दानबहादुर रावलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेकपा एकीकृत समाजबादीकी समानुपातिक उम्मेदवार बसन्ती डगौरा र माओवादी केन्द्रका कृष्ण स्वडारी लगायतले बोलेका थिए भने प्रमोद जैगडीले कला प्रस्तुत गरेका थिए ।