आफुलाई माला र खादा होईन खबरदारीको खाँचोः नवनिर्वाचित प्रदेश साँसद कमल शाह

न्यूज सम्बाददाता
खैरीफाँटा कैलाली, १० मंसिर
सुदूरपश्चिम प्रदेश सभा कैलाली क्षेत्र नं.–२ ‘क’का नव निर्वाचित सदस्य कमल शाहले आफुलाई माला र खादा होईन विकास, जनजीविकाका सवाल र सुशासनका लागि खबरदारीको खाँचो रहेको औंल्याएका छन् ।
उक्त कुरा नवनिर्वाचित प्रदेश साँसद शाहले शनिवार कैलालीको जानकी गाउँपालिका वडा नं.–९ खैरीफाँटामा लोकतान्त्रिक बाम गठवन्धनद्वारा आयोजित मतदातालाई धन्यवाद कार्यक्रममा बोल्दै बताएका हुन् ।
उनले आफुलाई साँसद होइन सेवकका रूपमा लिन आग्रह गर्दैै आफु जन परीक्षाको सङ्गीन मोडमा उभिएकाले पाँच वर्ष जनतासँगै रहेर हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै मतदाताले आफु माथि गरेको विश्वासमाथि घात नगर्ने प्रण गरेका छन् ।
चुनावताका गरिएका बाचा आफुले नबिर्सिएको बताउँदै शाहले जगतपुरको धुलो माटोमा खेलेर हुर्र्किएकोले यस क्षेत्रका जनताको चाहना र आवश्यकता केशरमार्ग आफ्नै पालामा पूरा गर्ने दृढता समेत व्यक्त गरेका छन् ।
जनविश्वास र आशामाथि घात गर्नेहरूलाई जनताले पाँच वर्षपछि हिसाब किताब गर्ने तथ्य आफुलाई राम्ररी थाहा भएकाले पनि जनखबरदारी आवश्यक रहेकोमा पुनः जोड दिएका छन् ।
उनले प्राविधिक कारण लोकतान्त्रिक बाम गठवन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भगत बडुवाल र आफु तल माथि भएपनि विकासका लागि पाँच वर्षसँगै रहने प्रतिवद्धता समेत जनाएका छन् ।
उनले भने–‘लोकतान्त्रिक बाम गठबन्धन चुनाव जित्नका लागि मात्र होइन मुलुकको स्थिरता, विकास, सुशासन र समृद्धिका लागि थियो, हो र रहने छ ।’
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लोकतान्त्रिक बाम गठवन्धनका उम्मेदवार भगत बडुवाल ‘मुक्ति’ले चुनावमा हार जित स्वाभाविक प्रक्रिया भएको बताउँदै आफुमाथि विश्वास गर्ने सवै मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
नेता बडुवालले जनमतको अपमान हुन दिने छैनौं विकासका लागि हामी सबैले आ–आफ्ना व्यक्तिगत स्वार्थ र चिन्तनभन्दा माथि उठ्न जरूरी भएको बताउँदै अर्काको खुट्टा काटेर आफु अग्लो हुने सोंच त्याग्न पनि सुझाएका छन् ।
उक्त कार्यक्रम नेपाली काँग्रेस जानकी गाउँपालिका वडा नं.–९ का सभापति दानबहादुर रावलको सभापतित्व र नेकपा एकीकृत समाजबादीका दानबहादुर स्वडारीको सहजीकरणमा सम्पन्न भएको हो ।